राष्ट्रपति मुखर्जीसँग काँग्रेसका नेताको भेटवार्ता

काठमाडौँ, १८ कात्तिक । नेपालको तीनदिने राजकीय भ्रमणमा रहनुभएका भारतका राष्ट्रपति प्रणव मुखर्जीसँग नेपाली काँग्रेसका नेताहरुले आज साँझ शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

राजधानीको ह्यात होटलमा भएको भेटमा द्विपक्षीय सम्बन्ध र विकास निर्माणका परियोजना कार्यान्वयन गर्ने विषयमा छलफल भएको परराष्ट्रमन्त्रीसमेत रहनुभएका काँग्रेस नेता डा प्रकाशशरण महतले जानकारी दिनुभयो ।

राष्ट्रपति मुखर्जीको भ्रमणबाट दुई देशबीचको सम्बन्ध थप सुदृढ एवम् प्रगाढ भएको, दुई देशबीच विश्वासको बाताबरण मजबुत भएको, सद्भाव विकसित भएको र थप सहयोगका क्षेत्रहरु पहिचान भएको काँग्रेस नेताहरुको निष्कर्ष छ ।

सो अवसरमा भारतीय प्रौद्योगिकी संस्थान ९आइआइटी० को अध्ययन कोटामा नेपाली विद्यार्थीलाई भारतीय विद्यार्थीसरह सुविधा दिने विषयमा समेत छलफल भएको बताइएको छ ।

भेटमा काँग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, कोषाध्यक्ष चित्रलेखा यादव, नेताहरु प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा रामशरण महत, गोपालमान श्रेष्ठ, डा मीनेन्द्र रिजाल र ज्ञानेन्द्रबहादुर कार्की सहभागी हुनुहुन्थ्यो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *